काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिलाको सम्बन्धमा संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन र जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै आर्थिकरूपमा समेत अधिकारप्राप्तिका लागि अघि बढ्न आह्वान गरे ।
राजनीतिक अधिकारप्राप्त भए पनि आर्थिकरूपमा समानता कायम नभएसम्म र उत्पादनका सबैखाले साधनमाथि महिलाको स्वामित्व सुनिश्चित नहुँदासम्म वास्तविक अर्थमा महिलामुक्ति सम्भव नहुने प्रचण्डको भनाइ छ ।
उनले यो दिवसले महिलामाथि भइरहेका संरचनात्मक हिंसा, दमन, शोषण र विभेदको अन्त्यका लागि प्राप्त अधिकारको कार्यान्वयनतर्फ सचेत र सङ्गठितरूपमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।