३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

२६ बैशाख २०८२, शुक्रबार १७:५०

काठमाडौँ | सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा जारी छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज भएको छलफलमा सत्तापक्षका सांसदले समर्थन र विपक्षी सांसदले आलोचना गर्नुभएको छ ।

सत्ता साझेदार दलका सांसदले प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको, विकासको ढाँचा र संस्कृति बदल्ने सङ्कल्प लिएको, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशातर्फ उन्मुख रहेको बताउनुभयो । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित विपक्षी सांसदहरुले नीति कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आरोप लगाउनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले प्रस्तुत नीति तथा कार्यक्रममार्फत सरकारले विकासको ढाँचा र संस्कृति बदल्ने, आद्योगिकीकरणको थालनी गर्ने, भूमि बैंक स्थापना, युवापुस्ता लक्षित स्टार्टअपमा लगानी वृद्धि गर्ने सङ्कल्प लिएको बताउनुभयो ।

एमाले सांसद दीपा शर्माले नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक, स्पष्ट र जनमुखी रहेको बताउनुभयो । “देशमा व्याप्त निराशालाई हटाउने, जनतामा आशा, भरोसा र उत्साह भर्न सक्ने, तीव्र आर्थिक विकास, सुशासन, रोजगारी र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिनेगरी आएको नीति कार्यक्रमको पूर्ण समर्थन गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

एमाले सांसद महेश बस्नेतले गठबन्धन सरकारको मर्म, भावना र समझदारीअनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएको उल्लेख गर्दै सर्वपक्षीय सहमतिका आधारमा संविधान संशोधन गर्ने उद्घोष सकारात्मक भएको बताउनुभयो । एमाले सांसद नारायणप्रसाद आचार्यले ‘समृद्ध नेपाल सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने लक्ष्यसहित प्रस्तुत सरकारको आगामी आवको नीति तथा कार्यक्रमको समर्थन गर्दै सबैको एकताबद्ध प्रयासबाट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, सत्तासाझेदार नेपाली कांग्रेसका सांसद शङ्कर भण्डारीले संविधान संशोधनका क्रममा सङ्घीयता र धर्मनिरपेक्षताका सम्बन्धमा जनमत सङ्ग्रह गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस सांसद कान्तिका सेजुवालले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विशेष योजना र मानसिक तथा सामुदायिक स्वास्थ्य सेवाका कार्यक्रम थप गर्न सुझाव दिनुभयो ।

कांग्रेसका सांसद दीपक गिरीले जलवायु परिवर्तनको असरसँग जुध्ने, रोजगारी सृजना, उत्पादन वृद्धिलगायतको योजना नसमेटिएको परम्परागत शैलीको नीति कार्यक्रमले मुलुकको समस्या समाधान गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले नीति कार्यक्रममार्फत विभिन्न क्षेत्रमा सुधार गर्ने सरकारको दृढता प्रशंसनीय रहेको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले सुशासन, रोजगारी, युवा केन्द्रित स्टार्टअप कार्यक्रम, अनावश्यक संरचना खारेज, परियोजना बैंकलगायत नीति कार्यक्रममा प्रस्तुत बुँदाको कार्यान्वयनबाट सरकारप्रति जनताको आशा भरोसा बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेखा शर्माले नीति तथा कार्यक्रममाथिको छलफलमा आएको सुझावलाई समेटेर लैजान आग्रह गर्दै प्रस्तुत नीति तथा कार्यक्रमले जनअपेक्षा पूरा गर्न र समाजवादको आधार तय गर्न नसक्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले संविधान कार्यान्वयनका क्रममा देखिएको कमीकमजोरी सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अघि बढाउने नीति कार्यक्रममा उल्लेख भए पनि संविधान संशोधनकै मुख्य एजेण्डा बनाएर सत्ता सहयात्रा गरेको दलले पछिल्लो १० महिनामा केही नगरेबाट संविधान संशोधन सत्ताप्राप्तिको एजेण्डा मात्रै भएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली