प्रकाश धौलाकोटी । माघ २, तेह्रथुम । एकिकृत नेकपा माओवादी जिल्ला कमिटी तेह्रथुमले जिल्ला सम्मेलन सकिएको लामो समयपछि बल्ल पदाधिकारीको टुंगो लगाएको छ । शनिबार सदरमुकाम म्याङलुङमा बसेको सम्मेलन पछिको तेस्रो पुर्ण बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रप्रकाश इम्सङ, सचिवमा तारा भट्राई, सहसचिवमा तेजमान कन्दङवा र कोषाध्यक्षमा बलिराज ईङ्नामलाई सर्वसहमतिले चयन गरेको छ ।
जिल्ला कमिटी सदस्यहरुमा सलबहादुर तिवारी, हरि खनाल, गणेश विमली, नन्द नेपाली, रमेश घिमिरे, ईश्वर श्रेष्ठ, छिरिङ लामा, पुर्णबहादुर आंखेवा र विमला फुएल चयन हुनुभएको छ । यस्तै प्रदेश समितिमा फुर्वी शेर्पा र रघु गौतमलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । बैठकले पदाधिकारीसहित जिल्ला कमिटी सदस्यहरुको एक तिहाई संख्या अनुसार १७ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।
एमाओवादी एक नम्बर प्रदेश समितिका सचिव तथा पोलिट व्युरो सदस्य सुरेश राई हिमालको आतिथ्यतामा बसेको बैठकले आउँदो चैत्र सम्ममा सबै जनवर्गीय संगठन र जातीय मोर्चाको जिल्ला सम्मेलन गरिसक्ने, जिल्ला व्यापी रुपमा तीन महिने संगठन सुदृढिकरण अभियान चलाउने र जिल्लाको विकास निर्माणको काममा प्रभावकारी तथा पारदर्शिता अपनाउन जोड दिने निर्णय गरेको बताइएको छ ।
दुई वर्ष अघि सम्पन्न भएको दोस्रो जिल्ला सम्मेलनले दुर्गाप्रसाद चापागाई सचिनलाई अध्यक्ष चयन गरेपनि बाँकी पदाधिकारी छान्न सकेको थिएन ।
यसैबीच एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा प्रदेश समितिका सचिव सुरेश राई हिमालले आगामी निर्वाचन पछि एमाओवादी पार्टी देशको सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्नुभएको छ । एमाओवादी जिल्ला कमिटी तेह्रथुमको विस्तार तथा कार्यकर्ता प्रशिक्षणकालागि आउनुभएका प्रदेश सचिव राईले संचारकर्मीसँग कुरा गर्दै एमाओवादीले लिएको राजनीतिक विचार र कार्यदिशाबाट आगामी निर्वाचनमा एमाओवादी सबैभन्दा ठुलो पार्टी हुने बताउनुभयो ।
उहाँले दोस्रो संविधानसभाको निर्वाचन पछि कमजोर संगठन व्यवस्थापन र फुटका कारण कमजोर देखिएको भएपनि हालको राष्ट्रिय राजनीति र सरकारको कार्यदिशा समेत एमाओवादीको विचार धाराबाट निर्देशित रहेको बताउनुभयो । उहाँले फुटका कारण नेपालमा माओवादीहरु कमजोर बनेको स्वीकार्दै यथासिघ्र मणि थापा नेतृत्वको माओवादी र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच पार्टी एकिकरण हुने बताउनुभयो ।
उहाँले विप्लव नेतृत्वको माओवादीसँग भने अहिल्यै पार्टी एकिकरणको सम्भावना नदेखिएको बताउनुभएको छ ।