काठमाडौँ | भारतीय क्रिकेटर युजवेन्द्र चहलले राज शमानीको पोडकास्टमा पूर्व पत्नी धनश्री वर्मासँगको सम्बन्ध विच्छेदपछिको मानसिक तनावबारे धेरै गम्भीर खुलासा गरेका छन्।
उनले एक महिना दुई घण्टा मात्र सुतेको र आफ्नो ज्यान लिने विचार आएको पनि बताए। उनले भने, ‘क्रिकेटबाट विश्राम चाहियो, मैदानमा दिमागले काम गरेन।’
चहल र धनश्रीको सम्बन्ध विच्छेद मुम्बईको पारिवारिक अदालतले २० मार्च २०२५ मा स्वीकृत गरेको थियो। उनीहरूले ११ डिसेम्बर २०२० मा विवाह गरेका थिए। चहलका अनुसार सामाजिक सञ्जालमा सामान्य जोडी जस्तो देखिए पनि त्यो नाटक थियो। ‘हामीले अन्तिम निर्णय नहुँदासम्म केही नभन्ने निर्णय गरेका थियौं,’ चहलले भने।
उनले महत्वाकांक्षी जीवनशैलीले सम्बन्धमा समन्वय अभाव भएको भनेका छन्। ‘सम्बन्धमा सम्झौता चाहिन्छ। दुई महत्वाकांक्षी व्यक्तिको लक्ष्य फरक हुन्छ,’ उनले भने।
सम्बन्ध विच्छेदको समयमा धोका दिएको हल्ला फैलिएको थियो। चहलले भने, ‘मलाई धोकेबाज भनियो, तर म वफादार छु। मलाई महिलाको सम्मान गर्न आउँछ।’ उनले ‘बी योर ओन शुगर ड्याडी’ टी-शर्टको अर्थ ‘आर्थिक रूपमा स्वतन्त्र हुनु’ रहेको खुलासा गरेका छन्।
चहलले ‘द ग्रेट इन्डियन कपिल शो’ मा चहलले आरजे महवशसँगको नयाँ सम्बन्धमा रहेको कुरा स्वीकारेका थिए। चहल र धनश्रीको प्रेम २०२० को लकडाउनमा नृत्य सिक्ने क्रममा सुरु भएको थियो। तर, जुन २०२२ देखि सम्बन्धमा दरार आयो अनि अलग भएका हुन्।