काठमाडौँ | नेकपा एमालेको कोसी प्रदेश बैठकमा केन्द्रबाट जारी अन्तरपार्टी निर्देशन (अपानि)-१२ विरुद्ध छलफल गर्न खोज्ने केही नेतालाई बोल्नबाट वञ्चित गरिएको छ।
मंगलबार र बुधबार धनकुटाको हिलेमा बसेको एमाले प्रदेश कमिटीको बैठकमा केही सदस्यलाई आफ्नो धारणा राख्न नदिइएको हो। एमाले प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानिको बर्खिलाप हुने गरी बोल्न खोजेकाले उनीहरूलाई बोल्न नदिइएको स्वीकार गरेका छन्।
‘पार्टी बैठकमा ४२ जना कमरेडहरूले बोल्नुभयो। केही कमरेडहरूले पार्टी केन्द्रको निर्णय र अपानि–१२ को बर्खिलापमा छलफल गर्न खोज्नुभएको थियो’, खतिवडाले भने, ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुँदैन। तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो। त्यही कारणले केही साथीहरूले बोल्ने समय पाउनुभएन।’
एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज र दुई कार्यकाल अध्यक्ष तथा ७० वर्षे उमेर हद हटाइएको विषयमा तीव्र विवाद छ। तर केन्द्रमा यी दुवै विषय अनुमोदन भइसकेको छ। यसैका आधारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तरपार्टी निर्देशन-१२ मातहतका पार्टी कमिटीमा पठाएका छन्।
विद्याबारे एमालेको अपानिमा भनएिको छ, ‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ। सक्रिय राजनीतिमा आउनु हुन्न। सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनु हुँदैन। अध्यक्ष भए पनि कार्यकर्ता हो। यहाँ आउनु हुँदैन। पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस्। उहाँ राष्ट्रको गहना हो। हाम्रो पनि गहना हो। उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन। विधानको धारा ८ अनुसार हुन्छ।’