२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

केन्यामा खडेरी : गाईको सट्टा उँट पालनतर्फ झुकाव

१५ कार्तिक २०८२, शुक्रबार १५:२५

उत्तरी केन्याको सुक्खा भूमिमा अप्रिलयता वर्षा भएको छैन । त्यसबेलादेखि स्थानीय गोठालाहरूका लागि गाई र गोरु पालन अब अतीतको कुरा बन्दै गएको छ । बबुल (एकासिया) का रुखतिर दौडिरहेका दर्जनौँ उँटलाई नियाल्दै दुई गोठालाले ‘हे भगवान, तिनीहरूको रक्षा गर्नुहोस्’ भन्दै प्रार्थना गर्ने दृश्य अहिले यहाँ सामान्य भइसकेको छ ।

नजिकैको कुवाको किनारमा बसेका गोठालाहरूले सन् २०२१ र २०२२ का लगातार न्यून वर्षाका कारण चार दशककै सबैभन्दा भीषण खडेरीमा आफ्ना गाई–गोरुहरू ‘सबै मरे’ भनेर दुःख व्यक्त गरे । त्यस यताका वर्षहरूमा उनीहरूले जीवनयापनको स्वरूप नै परिवर्तन गरेका छन् ।

अर्ध–घुमन्ते सम्बुरु समुदायका सदस्य लोलपुसिक भन्नुहुन्छ, “अब हाम्रो घरमा गाईवस्तु छैनन्, हामीले केवल उँट पाल्छौँ ।”

उँटहरू सुक्खा घाँसमा पनि बाँच्न सक्छन्, एक हप्ता भन्दा बढी पानी बिना रहन सक्छन् र गाईको तुलनामा छ गुणा बढी दूध दिन सक्छन् । यसले जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उत्तरी केन्याका बासिन्दालाई उँटलाई जीवनको नयाँ आधार बनाउन प्रोत्साहित गरेको छ ।

सन् २०१५ मा थुप्रै खडेरीका कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका करिब ७० प्रतिशत गाईवस्तु मरेपछि सम्बुरु काउन्टीका अधिकारीहरूले उँट पालन कार्यक्रम सुरु गरेका थिए । ती खडेरीहरूले स्थानीय पशुपालकहरूमा कुपोषणको गम्भीर समस्या निम्त्याएको थियो । त्यसपछि करिब पाँच हजार सोमाली उँट वितरण गरिए । यसमा गत वर्ष मात्रै एक हजार उँट समावेश थिए । यी उँट देशी प्रजातिभन्दा ठूला र बढी उत्पादक हुन्छन् ।

पहिले उँटबारे खासै जानकारी नभएका लोलपुसिकले सन् २०२३ मा केही उँट प्राप्त गर्नुभयो । अहिले उहाँको झाडीले घेरिएका सवान्ना क्षेत्रका साना आयाताकार झुपडीहरूको समूह मन्याट्टामा इक दर्जन उँट शान्तिपूर्वक घाँस चरिरहेका छन् । गाउँका प्रशासक जेम्स लोलपुसिक (नाम मात्र मिल्ने तर सम्बन्ध नभएको व्यक्ति) का अनुसार काउन्टीको लक्ष्य ‘हरेक परिवारको आफ्नै उँट हुने’ हो ।

“यदि खडेरी जारी रह्यो भने गाईवस्तुहरू यहाँ टिक्न सक्दैनन्”, उहाँले भन्नुभयो ।

यद्यपि उँटपालनसँग केही जोखिमहरू पनि छन् । विशेषगरी रोगको सम्भावना रहेको छ । तर सकारात्मक परिवर्तनहरू प्रष्ट देखिएका छन्—उँटको दुधले बालबालिकाको पोषणमा ठूलो सुधार ल्याएको छ । “उँटहरू दिनमा पाँचपटकसम्म दुध दिन सक्छन्”, गाउँ प्रमुखले भन्नुभयो ।

४० वर्षीया नैमालु लेन्टाका भन्नुहुन्छ, “गाईले त घाँस हरियो हुँदा मात्र दुध दिन्छ, तर उँटहरू सुक्खा मौसममा पनि निरन्तर दुध दिन्छन्, यही हो ठूलो भिन्नता ।” उहाँका अनुसार अहिले गाउँका धेरै परिवार ‘उँट र तिनीहरूको दुधमा नै निर्भर’ छन् ।

सन् २०२२ मा केन्याको मेरु विश्वविद्यालयले गरेको अध्ययनले उँटको दुधमा मानव स्तनदूधजस्तै पोषण र उपचारात्मक गुणहरू रहेको देखाएको थियो । उत्तरी केन्याका समुदायहरूमा खडेरीका समयमा उपभोग गरिने कुल पोषक तत्वको करिब आधा भाग उँटको दुधबाट प्राप्त हुने तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उँटहरू केवल जीविकोपार्जनका साधन मात्रै होइनन्, यहाँका सांस्कृतिक र खेलकुदका तारा पनि बनेका छन् । सेप्टेम्बरको अन्त्यमा सम्पन्न मारालाल इन्टरनेसनल क्यामल डर्बीमा करिब ४० वटा उँट उत्साहित भीडका सामु दौडिरहेका थिए । विजेताले २१ किलोमिटर (आधा म्याराथन) दूरी मात्र एक घण्टा २२ मिनेटमा पूरा गरेका थिए ।

कार्यक्रमका आयोजकहरूले भनेका छन्, “यो प्रतियोगिता शान्तिपूर्ण सांस्कृतिक अन्तरक्रियाको माध्यम हो, जसले स्रोतका लागि लड्ने समुदायहरूलाई एकसाथ ल्याउँछ ।” वास्तवमा, उँटलाई यहाँ ‘शान्तिको प्रतीक’ का रूपमा समेत हेरिन्छ ।

सुक्खा मौसममा गोठालाहरूले गाईवस्तुका झुण्डहरूलाई उर्वर क्षेत्रतर्फ लैजानाले वर्षौंदेखि थुप्रै द्वन्द्व निम्त्याएको छ । तर उँटहरू भने जहाँ छन् त्यहीँ बस्न सक्ने भएकाले यसले हिंसा र प्रतिस्पर्धा घटाएको छ ।

यद्यपि यो कठोर जनावरलाई पनि जीवित रहन केही पानी चाहिन्छ । त्यसैले स्थानीय बासिन्दाहरू अझै पनि वर्षाको प्रतीक्षा र प्रार्थनामा छन् ।

“हामी केवल यही प्रार्थना गर्छौं कि स्थिति अझ बिग्रिन नपाओस्”, गाउँ प्रशासक जेम्स लोलपुसिकले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै