काठमाडौँ | ठूलो हिमपातका कारण बुधवारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी–कोरला) सडकको बाक्लो हिउँ पन्छ्याउन शुरु भएको छ । शुक्रवारदेखि कोरलानाका जोड्ने सडकको हिउँ पन्छ्याउन शुरु गरिएको हो ।
अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको उपकरण प्रयोग गरी मुस्ताङको छुसाङदेखि लोमान्थाङसम्म सडकको हिउँ सफा गरिएको हो ।
लोमान्थाङदेखि कोरलानाकासम्मको २५ किलोमिटर सडकको हिउँ पन्छ्याउने काम भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार करिडोर सडकको उपकरणसहित सशस्त्र प्रहरी टोलीले कोरला नाका सडकको हिउँ पन्छ्याउन जुटेको जानकारी दिनुभयो ।
यसअघि मङ्गलवारराति माथिल्लो मुस्ताङमा ठूलो हिमपात हुँदा कागबेनी–कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेको थियो । त्यही कारण जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो । ठूलो हिमपातका कारण माथिल्लो मुस्ताङको कोरला सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा, सुरक्षाकर्मी, पर्यटक, व्यापारीहरु र चुनावका लागि मतदान केन्द्र तथा मतदानस्थलको अनुगमनकार्य खटिएकाहरुलाई कठिनाइ भइरहेको छ ।