काठमाडौँ | परराष्ट्र मन्त्रालयले साउदी अरबबाट अत्यावश्यक परी नेपाल फर्कन चाहने नेपालीलाई आवश्यक कागजात त्यहाँस्थित नेपाली दूतावासमा बुझाउन अनुरोध गरेको छ । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
“अति जरुरी परेका कारण साउदी अरब हुँदै नेपाल फर्कन चाहनेहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लानसहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगलाई पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्नुहुनेछ,” परराष्ट्र मन्त्रालयले भनेको छ ।
पश्चिम एसिया क्षेत्रका केही स्थानबाट सीमित रूपमा हवाई उडानहरू सञ्चालन भइरहेको परराष्ट्रले जनाएको छ । परराष्ट्रका अनुसार, नेपालतर्फ उडान सञ्चालनका सम्बन्धमा समेत छलफल भइरहेको छ । इच्छुक नेपाली नागरिकले हाल उडान सञ्चालन भइरहेका स्थानबाट हवाई यात्रा गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । “पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आज साँझसम्म ५७ हजार १०० जना नेपाली नागरिकहरूले आफ्नो विवरण दर्ता गरिसक्नुभएको छ । प्राप्त विवरणहरू अध्ययन गर्दै आवश्यकता अनुसार कदम चालिने छ,” परराष्ट्रले भनेको छ ।
पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई परराष्ट्र मन्त्रालय तथा उक्त क्षेत्रमा रहेका नेपाली नियोगहरूले नजिकबाट नियालिरहेको विज्ञप्तिमा जनाइएको छ । त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहल जारी राखिएको भनाइ परराष्ट्रको छ । उक्त क्षेत्रका सम्बन्धित निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक जानकारी नियमित रूपमा अद्यावधिक गरिरहेको परराष्ट्रले जनाएको छ ।