काठमाडौँ | प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी दैलेख दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई गालीगलौज र धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत घर भई हाल काठमाडौं शंखमूल बस्ने २२ वर्षीय प्रकाश खड्का रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार खड्काले आफू प्रधानमन्त्री कार्यालयको मान्छे भन्दै फोन गरेर सिफारिसको काम छिटो गरिदिन दबाब दिएका थिए। सो क्रममा उनले अश्लील गालीगलौज र धम्कीसमेत दिएको आरोप छ। वडा सचिव भण्डारीका अनुसार फोन लाउडस्पिकरमा राखिएको अवस्थामा भएको गालीगलौजले कार्यालयमै रहेका सेवाग्राहीसमेत प्रभावित भएका थिए। उनले घटनाबारे प्रहरीमा उजुरी दर्ता गरिसकेको बताएका छन्।
घटना सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखले पनि खड्कामाथि अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।