काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाशचन्द्र परियारले लोकतन्त्रप्रति आफ्नो गहिरो दिलचस्पी, अनुराग र निष्ठा रहेको बताएका छन् । मंगलबार (जेठ ५) प्रतिनिधिसभा बैठकमा उनले यसप्रति सबैजना जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
“हामी लोकतन्त्रको अब्बल अभ्यासको विशिष्ट अवस्थामा छौँ । लोकतन्त्रप्रति मेरो साँच्चै गहिरो दिलचस्पी, अनुराग र निष्ठा छ,” उनले भने, “यो संसद् नेपाली जनताको सर्वोच्च जनप्रनिधिमूलक संस्था हो । जनताको आस्थाको पवित्र मन्दिर हो भन्नेमा अब दुई मत रहनै सक्दैन ।”
सत्तापक्ष तार्किक प्रश्नबाट नभाग्ने र लोकतन्त्र बलियो बनाउन प्रतिपक्षको पनि जिम्मेवार भूमिका आवश्यक हुने उनले बताए । “कतिपय विपक्षी दलका माननीयहरूले हामी सबैको आस्थाको धरोहर संसद्को मर्म, मर्यादा, सम्मान र यसको ऐतिहासिक विरासतविरुद्ध वर्तमान सरकार जान्छ कि भन्ने निराधार आशंकालाई अहिले म सकारात्मक खबरदारीकोे रूपमा बुझ्दछु,” उनले भने ।
उनले रचनात्मक हुन सरकार र प्रतिपक्षलाई अपिल पनि गरे । “मलाई थाहा छ, अस्तिलाई हिजोले प्रश्न गर्यो, हिजोलाई आजले प्रश्न गर्दै छ र आजलाई भोलिले प्रश्न गर्नेछ,” सांसद परियारले भने, “सरकारलाई रचनात्मक सुझाव दिन चाहन्छु र प्रतिपक्षलाई पनि आग्रह गर्दछु– यो सरकारलाई भोलि प्रश्नै गर्नु नपर्ने गरी काम गर्ने वातावरण बनाइयोस् ।”