काठमाडौँ | वीरगन्जबाट सोमबार बेलुकी पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । मंगलबार वीरगन्जमा कार्यक्रममा सहभागी हुनका लागि आएका बेला प्रसाईं सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो । सोमबार बेलुकी प्रसाईंलाई पक्राउ गर्दै गर्दा सञ्चारकर्मीले पक्राउ गर्नुको कारण वा कसुरबारे प्रश्न गर्दा प्रहरीले केहि पनि बताएको थिएन ।
तर मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा रहेका प्रसाईंविरुद्ध मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जानकारी गराएको छ । यसअघि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले विभिन्न फरक जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पुर्याउने तथा सरकारप्रति घृणा र द्वेष फैलाउने खालका अमर्यादित अभिव्यक्ति दिएको कसुरमा सोमबार प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका थिए ।
सोमबार बेलुकी ८ बजेतिर वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले होटलबाट प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रसाईंका समर्थकहरुले विरोध जनाउँदै प्रतिवाद गर्दा केहिबेर तनाव समेत भएको थियो । होटलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रसाईंलाई सिधै जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको थियो ।