काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार मतदान हुने भएको छ। महाधिवेशनअन्तर्गत आज बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइने र निर्वाचन तालिका सार्वजनिक गरिने तयारी गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो २ बजे सुरु हुने बन्दसत्र साँझ ६ः४५ बजे समापन हुनेछ। त्यसपछि उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ। प्रत्यक्ष रूपमा महाधिवेशनमा सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिहरूले रास्वपाले विकास गरेको आफ्नै मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
मतदानका लागि ८० वटा विद्युतीय उपकरणको व्यवस्था गरिएको छ। निर्वाचनमार्फत एक जना सभापति तथा ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछन्।