काठमाडौँ | वर्षात् सुरू भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुग्लिन–नारायणगढ सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरोको जोखिमलाई मध्यनजार गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षातको समयमा पहिरो खस्न सक्ने जोखिम रहेका स्थानमा पहिरो गई सडक आवागमन अवरूद्ध हुनसक्ने अवस्थालाई मध्यनजर राख्दै आवश्यक उपकरण राखिएको हो।
उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहो लोडर पहिरो पन्छाउनका लागि तयारी अवस्थामा राखिएको छ। यस्तै, सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहो लोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर तयारी अवस्थामा राखेको उनले जानकारी दिए। पहिरोका कारण सडक अवरूद्ध भएमा तत्काल हटाई सवारी आवागमनलाई चुस्त र नियमित सञ्चालन राख्ने उद्देश्यले उपकरण अपरेटर सहित तयारी अवस्थामा राखिएको उनले बताए।