Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिङ्गो समाजमा आशा मर्दै गयो भने, आशा मरेको समाज बन्नको लागि झन् ढिलो ढिलो हुन्छ: विश्वप्रकाश शर्मा

By Sajha Sabal 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहलाई जनताको समस्याप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले साझा राष्ट्रिय प्रश्नमा कांग्रेस सरकारको साथमा रहेको बताए । उनले एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘विश्वकप फुटबल चलिरहेको छ। सेमिफाइनलको चरणमा प्रवेश गरेको छ। बिहान सम्म मिलेसम्म, हामी
कयौँले हेरी पनि रहेका छौँ। तर समाचारमा विश्वकप फुटबल मात्रै छैन। विकट गाउँबाट आएका गणेश नेपालीले काठमाडौँमा आत्मदाह गरे, उनको शव भर्खर उठाउन लागिँदैछ। कीर्तिपुरको होल्डिङ सेन्टरमा साना नानी बाबुहरू भोकले तड्पिरहेका छन्, वृद्ध आमाबाबाहरू रोगले मरिरहेका छन् ।’

उनले यो समयमा आफूहरूले प्रश्नले सरकारलाई घेर्न नचाहे पनि आशा जनाउन सहकार्य गर्न तयार रहेको बताए । शर्माले थपेका छन्, ‘हिजो हाम्रो पालामा प्रेम आचार्यले आत्मदाह गर्नुभयो। आज फेरि गणेश नेपालीले आत्मदाह गर्नुभयो। नेतृत्वप्रतिको विश्वास पनि किन क्रमशः खण्डित हुँदै छ ? मूल प्रश्न यो हो। हामी यसलाई राजनीतिक कोणबाट हेर्न चाहँदैनौँ। सिङ्गो समाजमा आशा मर्दै गयो भने, आशा मरेको समाज बन्नको लागि झन् ढिलो ढिलो हुन्छ भन्ने कुराप्रति गम्भीर बन्न चाहन्छौँ ।’

उनले जनताको असह्य पीडामा आफूहरूले सरकार खोजिरहेको बताए। उपसभापति शर्माको भनाइ छ, ‘सरकारलाई साथ दिनको लागि हामी सरकार खोजिरहेका छौँ। प्रधानमन्त्रीजी, तपाईँ प्रधानमन्त्री बन्नुपूर्वको कोमल हृदय जुन थियो नि, जसले गुनगुनाएर झस्काउने प्रयास गरेको थियो कि गरिबको चमेली बोलिदिने कोही छैन । आज प्रधानमन्त्रीजीले भन्नुपर्‍यो गरिबको चमेली बोलिदिने कोही छ। आशा जगाउनुपर्‍यो, विश्वास जगाउनुपर्‍यो।’

उनले होल्डिङ सेन्टरमा एक छाक पनि नखाई भोकै कोही हुने अवस्था अन्त्य गर्न आग्रह गरेका छन्। ‘हामी सरकारको साथमा उभिन चाहन्छौँ, सरकारलाई साथ दिन चाहन्छौँ। हामी हात लम्काउन चाहन्छौँ। अघि बढ्नुस्, विषयको गम्भीरतालाई बुझ्नुस्, विषयको कारुणिकतालाई सम्बोधन गर्नुस्’ उनले भनेका छन्, ‘देश तपाईँको साथमा उभिनेछ, हामी तपाईँको साथमा उभिनेछौँ। यो प्रश्न पक्ष र प्रतिपक्षको होइन, यो प्रश्न सत्ता र विपक्षको होइन, यो प्रश्न राजनीतिक प्रश्न होइन। यो समाजमा आशा जगाउने प्रश्न हो।’