
काठमाडौँ | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।आङ्देम्बेले सामाजिक सञ्जाल फेसबुकमा सरकारको यस्तो कार्य निन्दनीय रहेको उल्लेख गरेका छन् । ‘व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राख्यो । अहिले हिउँदको कठ्याङ्ग्रिँदो मौसममा भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट समेत हटाउन खोजिँदैछ । यो निन्दनीय छ,’ आङ्देम्बेले लेखेका छन् ।
उनले देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई पहिले जग्गाको टुङ्गो लगाएर मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।‘देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई पहिले जग्गाको टुङ्गो लगाइयोस् । उनीहरूको आवास सुनिश्चित गरियोस् । त्यसपछि मात्र व्यवस्थापनको प्रक्रिया अघि बढाइयोस् । वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्याउने अधिकार सरकारलाई छैन,’ आङ्देम्बेको भनाइ छ ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । प्रशासनले घरभाडाबापत सरकारले उपलब्ध गराउने १५ हजार रुपैयाँ लिएर सेन्टर छाड्न भनेको छ ।