Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हामीले युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ: सभामुख अर्याल

By Sajha Sabal 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | सभामुख डीपी अर्यालले आदिकवि भानुभक्तको योगदानले नेपाली भाषा, साहित्य र राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । २१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराए । उनले सिद्ध गरे-साहित्य केवल विद्वानका लागि होइन, जनताको हृदयमा बस्ने भाषा हो । भानुभक्तको लेखनीले नेपाली भाषालाई घर–घरमा पुर्‍यायो, जन–जनमा चेतना जगायो, र हाम्रो सांस्कृतिक एकतालाई मजबुत बनायो ।’

नेपालभित्र मात्र नभई नेपाल बाहिर रहेका समस्त नेपालीलाई नेपाली भाषाले नै एकताको सूत्रमा बाँध्ने गरेको उनले बताए। अर्यालले भने, ‘भानुभक्तले रामायण दिए । रामायण सहित नेपाली साहित्यले महाकाव्य पायो । त्यही महाकाव्यको क्रम आजसम्म जीवित छ । आजको दिन हामीले भानुभक्तलाई सम्झनु मात्र होइन, उनको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक छ ।’

आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच पनि भाषा, संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सामूहिक जिम्मेवारी भएको बताए। भानुभक्तले देखाएको मार्ग सरलता, स्पष्टता, जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले भने, ‘हामीले युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ र भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्छ । भानुभक्तको सम्मानमा जे जति गरिन्छन् ती सबै नेपाली राष्ट्रियताका पहरेदार कर्म हुन् र नेपाली मौलिकताका परिचायक हुन् ।’