काठमाडौँ | सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रचलित कूटनीतिक अभ्यास बमोजिम सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुरोधका आधारमा सभापति रवि लामिछानेको चीन भ्रमणको सहजीकरण गर्न परराष्ट्र मन्त्रालय तयार रहेको उल्लेख गर्दै प्रवक्ता क्षेत्रीले कूटनीतिक आधारमा सबै भ्रमण सम्पन्न हुने बताए ।‘राजनीतिक दलहरूबीच हुने भ्रमण वा आदानप्रदान सम्बन्धित दलहरूको विषय हो । त्यस्तो भ्रमणका लागि परराष्ट्र मन्त्रालयको समन्वय वा कूटनीतिक सहजीकरण आवश्यक पर्ने अवस्था आएमा सम्बन्धित राजनीतिक दलको अनुरोधका आधारमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ’, उनले भने ।
उनले सांस्कृतिक कूटनीति हरेक देशको कूटनीतिक अभ्यासको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी र सुदृढ बनाउने नीति सरकारले लिएको जानकारीसमेत दिए ।