काठमाडौँ | नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। हाल विदेश भ्रमणमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरेका छन्।
श्रद्धाञ्जली सन्देशमा देउवाले श्रेष्ठको राजनीतिक योगदान दीर्घकालसम्म स्मरणीय रहने उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निभाउनु भएको अग्रणी भूमिका सधैं स्मरणीय रहनेछ।’
देउवाले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा कांग्रेसका नेता–कार्यकर्ताप्रति समवेदना पनि व्यक्त गरेका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको मंगलबार उपचारका क्रममा निधन भएको हो।