काठमाडौँ | आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्। आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ। लगातार तीन खेलमा विकेट लिन नसकेका सन्दीप लामिछानेलाई बाहिर राखिएको छ। यस्तै, सोमपाल कामी पनि बाहिर रहँदा हेमन्त धामी र ललित राजवंशी अटाएका छन् ।
नेदरल्यान्ड्समा जारी सिरिजमा नेपाल जितविहिन छ। यसअघिका तीनै खेलमा नेपाल पराजित भएको हो। पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले हार ब्यहोरेको थियो।
यस्तै, तेस्रो खेलमा नामिबियासँग जितनजिक पुगेको नेपालले ३ रनले खेल गुमायो।