काठमाडौँ | वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा दाङ घर भई काठमाडौँको टोखा नगरपालिका-१० बस्ने ३२ वर्षीय पवन कुमार केसी (विक्रम), रौतहट घर भई काठमाडौँ महानगरपालिका-३ बस्ने २१ वर्षीय सुधिर प्रसाद जयसवाल र काभ्रे घर भई काठमाडौँ महानगरपालिका-२५ बस्ने ३८ वर्षीया लक्ष्मी खड्का रहेका छन्।
पक्राउ परेकामध्ये पवनले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितबाट ७ लाख रुपैयाँ, सुधिरले साइप्रस पठाइदिन्छु भन्दै १ लाख रुपैयाँ र लक्ष्मीले रोमानिया पठाइदिन्छु भन्दै १ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पवनलाई काठमाडौँ महानगरपालिका-१० बाट, सुधिरलाई काठमाडौँ टोखा नगरपालिका-९ बाट र लक्ष्मीलाई काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।