
काठमाडौँ | महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाको सुरक्षालाई तत्काल सुनिश्चित गर्न लक्षित उपायका रूपमा ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याइएको स्पष्ट पारेकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री बादीले ‘ब्लु बस’ सेवा महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्नबाट रोक्ने वा नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन गर्ने उद्देश्यले नल्याइएको बताइन्।
मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भीडभाड तथा आवागमनका व्यवहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्न ‘ब्लु बस’ सेवा शुरू गरिएको बताइन्। उनले भने, “सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीडभाड तथा आवागमनसम्बन्धी व्यवहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ‘ब्लु बस’ सेवा अगाडि बढाइएको हो। यस सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न रोक लगाउँदैन र नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन पनि गर्दैन। त्यसैले यो लैङ्गिक असमानतातर्फ धकेल्ने कदम नभई विद्यमान असमान जोखिम न्यूनीकरण गर्ने आवश्यकतामा आधारित उपाय हो। सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग-अलग यात्रा गराउनु होइन। महिला र पुरुषले एउटै सार्वजनिक बसमा सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु नै सरकारको मूल लक्ष्य हो। यससँगै महिलाले सार्वजनिक बसमा भोगिरहेका जोखिम र दुर्व्यवहारलाई तत्काल सम्बोधन गर्नु पनि सरकारको जिम्मेवारी हो।”
मन्त्री बादीले महिलामाथि सार्वजनिक यातायातमा हुने दुर्व्यवहार र जोखिमलाई तत्काल सम्बोधन गर्नु सरकारको दायित्व रहेको बताइन्। सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, सम्मानजनक र व्यवस्थित बनाउन सरकार गम्भीरतापूर्वक काम गरिरहेको पनि उनले बताइन्।