
काठमाडौँ | जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन्। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाए। उनले साना साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने बताए।
सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्नसक्ने उनको भनाई छ। कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालना गर्नु दुवै गलत भएको बताए। उनले जेनजी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथी गोली हानेको आरोप लगाए। द्वन्द्व नियन्त्रणका लागि प्रहरीले घातक हतियारको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरण प्रयोग गर्नुपर्ने उनको भनाई छ।
कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेन–जी उमेर समूहका रहेको उल्लेख गर्दै उनले जेन–जी आन्दोलन र पछिल्लो घटनामा फरक परिस्थिति भए पनि दुवैमा युवाले ज्यान गुमाएको र राज्यले गोली चलाएको उनको भनाई छ। उनले कप्तानगन्ज घटनाको जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए।