
काठमाडौँ | नेपाली कांग्रेसका सभापित गगन थापाले देशमा अहिले शासकीय अराजकताको अवस्था रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीदेखि रास्वपाका सांसदसम्म अराजक व्यवहार देखाइरहेको उनको आरोप छ । आज पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलामा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएका छन्, मन्त्रीले उत्तेजना फैलाउने अभिव्यकित दिएका छन् । मैले यस्तो पहिले कहिल्यै देखेको थिइनँ । अहिले म शासकीय अराजकता देखिरहेको छु । सांसदले, मन्त्रीले खुट्टा भाँच्छु भनेको छ । प्रधानमन्त्रीले मन्त्री नराखी बैठक गरेको छ । अर्थमन्त्रीले गभर्नर नराखी बैठक गरेको छ । प्रधानमन्त्रीको सचिवालयले दिनदहाडै मान्छे उठाएको छ । अख्तियारको प्रमुखलाई थुनेर, उठबस गराएर निर्णय गर्न लगाएको छ । यो अराजकता हो । शासकीय अराजकता हो । यसलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्छ ।’
वर्तमान सरकारले संविधानलाई जथाभावी चलाउन खोजेको भन्दै उनले आपत्ति व्यक्त गरे । संविधान संशोधनको विषय भाँडाकुटि खेलेजस्तो हल्का नभएको उनको भनाइ छ ।
थापाले भने, ‘सरकारले संविधान चलाउन चाहेको छ । चलाउनु पनि पर्छ । तर सरकारको संविधानप्रतिको बुझाइले देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्छ । हामीले द्वन्द्वमा जान दिनु हुँदैन । मैले रास्वपाका साथीहरुलाई भनेको छु, यो भाँडाकुटी खेलेको जस्तो होइन । केही ब्रोहरु जम्मा गरेर हल्ला गरेको जस्तो होइन । हल्का ढंगले डिल गरेर हुँदैन ।’