
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई समेत समेटेर पार्टीको १५औँ महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न आफू तयार रहेको बताएका छन्। तर, दबाब वा धम्कीका आधारमा आफू पछि नहट्ने उनले स्पष्ट पारेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवासहित निवर्तमान कार्यसमितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताए। महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सबै काम गर्न आफू तयार रहेको उनको भनाइ थियो।
थापाले भने, ‘तर एउटा कुरा के स्पष्ट पार्छु भने, म तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ र फकाएर फकिन्नँ। यो पार्टीमा चार पुस्ताको सहभागिता छ, सबैलाई समेटेर लैजानुछ।’