
काठमाडौँ | प्युठानको माडी खोलाको किनारमा आज पाँच जनाको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिका–९, जुडापाटीस्थित माडी खोलाको किनारमा पाँचवटा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा ती शव रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारा क्षेत्रमा गएराति पहिरोमा परी बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएको छ । बाढीका कारण पहिरोमा परेका मानिस तथा शव खोलाले बगाएर प्युठानसम्म ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी नरहरि अधिकारीले माडी खोलामा पाँचवटा शव फेला परेको पुष्टि गरेका छन् । उनका अनुसार प्युठानमा मानिस हराएको वा पहिरोमा परी बेपत्ता भएको कुनै घटना नभएकाले शव माथिल्लो क्षेत्र रोल्पाबाट बगेर आएको हुन सक्ने देखिएको हो ।
प्रहरीले फेला परेका शवका तस्वीर रोल्पा प्रहरीलाई पठाएको छ । तस्वीरका आधारमा शवको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पहिचान खुलेपछि उनीहरू रोल्पाको पहिरोमा बेपत्ता भएकामध्ये हुन् वा अन्य व्यक्ति भन्ने स्पष्ट हुने बताइएको छ ।