
काठमाडौँ | स्वास्थ्य उपचारका सिलसिलामा सिंगापुर र हङकङमा ५ महिना रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्केका छन्। देउवालाई विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका थिए। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको केही समयपछि देउवाले अपिल जारी गरेका छन्। उनले शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न आफू स्वदेश फर्केको उल्लेख गरेका हुन्।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाको भनाइ छ, ‘०३३ सालमा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो। मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।’
उनले प्रतिशोधभन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन्। ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु, विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,’ उनले भनेका छन्।
साथै देउवाले कांग्रेसभित्र देखिएको अहसमति र निराशा तुरून्त समाधान हुनुपर्ने बताएका छन्।