
काठमाडौँ | नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला आज पनि जारी रहेको छ। डा.शंशाक कोइरालाको अध्यक्षतामा सुकेधारामा जारी राष्ट्रिय भेलामा आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले शुक्रबार राष्ट्रिय भेलाको उद्घाटन गरेका थिए।
जारी बन्दसत्रमा पार्टीको आन्तरिक राजनीतिक, सांगठनिक संरचना तथा आगामी रणनीति तय गर्न राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरूमाथि छलफल हुनेछ। पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन, डा.प्रकाशशरण महतले आर्थिक दृष्टिकोण प्रतिवेदन, उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, रमेश लेखकले विधान संशोधन प्रस्ताव पेस गरेका छन्। सोहि विषयमा सहभागीले आफ्नो धारणा राख्नेछन्।
राष्ट्रिय भेलामा शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूको उपस्थितिले कांग्रेसभित्र नयाँ शक्ति समीकरणको सम्भावना देखाएको छ। यसअघि नेतृत्वका लागि प्रतिस्पर्धा गरेका देउवा र शेखर हाल गगन नेतृत्वको विशेष महाधिवेशन प्रक्रियाप्रति असहमति राख्ने साझा धरातलमा देखिएका छन्। यद्यपि यो स्थायी राजनीतिक गठबन्धन हो वा तत्कालीन परिस्थितिमा बनेको रणनीतिक सहकार्यमात्र हो भन्ने स्पष्ट भइसकेको छैन। तर आगामी १५ औं महाधिवेशनमा नेतृत्वको समीकरण निर्माण गर्दा शेखर समूह निर्णायक बन्न सक्ने सम्भावना भने बढेको देखिन्छ।