
काठमाडौँ | नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा पार्किङ गरी राखिएको माईक्रो भ्यानलाई अनियन्त्रित बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ८ :२५ बजेकाे समयमा बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक किनारमा रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली इभी भ्यानसँग ठोक्किएको थियो। ठक्करपछि दुवै सवारी साधन सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका पाँचै जनालाई तत्काल उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तर, उपचारका लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन्। मृत्यु हुनेहरुमा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल,रामेछाप, सुनापति (ठाडादेवी) गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा सर्लाही, लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ तथा दोलखा, मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन्।उनीहरुकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
घाइते तीनै जनाको हाल ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।