काठमाडौँ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२, चालिसेमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक करिब चार घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
सोमबार बिहान पौने ६ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फको आवागमन अवरुद्ध भएको थियो। पहिरोका कारण काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन रोकिँदा लामो जाम लागेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय (धादिङ, गजुरी) र इलाका प्रहरी कार्यालय (गजुरी) बाट खटिएको प्रहरी टोलीको समन्वयमा निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरी पहिरो पन्छाइएको थियो। पहिरो हटाएपछि करिब चार घण्टापछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
सडक सञ्चालनमा आएसँगै राजमार्गमा रोकिएका सवारीसाधन क्रमशः गन्तव्यतर्फ लागेका छन्।