काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन्। सोमबार संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै डा. कोइरालाले कांग्रेस विभाजनको पक्षमा आफू नरहेको बताए। दुवै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। ‘गगनकुमार थापा र शेरबहादुरजीको बीचको जुन दूरी छ, त्यसलाई घटाउन, दुई जनाको बीचमा संवाद हुन ताकि अगाडि बढोस् भनेर म प्रयत्न गर्नेछु,’ डा. कोइरालाले भने।
उनले कांग्रेसभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताए। उनले सभापति थापासँग आफूले यसअघि पनि पटक-पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको सुनाए। नेता कोइरालाले कांग्रेसभित्र पछिल्लो समय बढेको आरोप-प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाए। उनले विगतमा पार्टीभित्र विवाद भए पनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गरे। पार्टीभित्रको भाषा र राजनीतिक संस्कार निकै खस्किएको भन्दै उनले नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताए। वरिष्ठ नेताहरूको बीचमा नै गालीगलौज हुनु कांग्रेसका लागि सुहाउने विषय नभएको उनको भनाइ थियो।
‘बीपी हुँदा यस्तो गालीगलौज हुँदैनथ्यो। विवाद हुन्थ्यो, तर एउटा सीमित घेरामा बस्थे, यस्तो किसिमको छरपस्ट त हुँदैनथ्यो,’ डा. कोइरालाले थपे, ‘मलाई सम्झना छ, प्रदीप गिरीज्यू विवाद गर्नुहुन्थ्यो, प्रश्नहरू गर्नुहुन्थ्यो। बौद्धिक विमर्श, हो त्यो विमर्श भनौं न। त्यहाँ झगडा, लुछाचुँडी हुँदैनथ्यो।’
उनले कांग्रेस एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताए। विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उनको भनाइ छ। ‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुपर्यो, दुवै पक्षले भन्न सक्नुपर्यो, हामीलाई के चाहिन्छ। चाहिने त त्यही पद हो, अरु के चाहिने?,’ डा. कोइरालाले भने, ‘हामीबीच लाइनमा छौं, हामी मिलाएर जान्छौं। भविष्य हेर्दै जानुहोला मिल्छ। अब कहिले मिल्छ, कसरी मिल्छ यो भन्न गाह्रो छ, तर मिल्छ।’
उनले एकताबद्ध बनाएर अघि बढ्न सकेमा कांग्रेसको शक्ति थप बलियो हुने बताए। उनले वरिष्ठ नेतालाई समेटेर लैजान पनि पार्टी सभापति थापालाई आग्रह गरे।