2026-10-19 02:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल

2026-08-18

काठमाडौँ | परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपाली नागरिकको आवागमनलाई सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा मङ्गलबार ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राहदानी केवल यात्रा अनुमति पत्र मात्र नभई नागरिक र सार्वभौम राज्यबीचको सामाजिक सम्झौताको प्रतीक भएको उल्लेख गरेका हुन् ।

मौजुदा ऐनका कतिपय प्रावधान अपूर्ण देखिएकाले नागरिकको सुरक्षा र प्रतिष्ठालाई ध्यानमा राखी संशोधन प्रस्ताव गरिएको उनको भनाइ छ। मन्त्री खनालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तय गरेका नवीनतम सुरक्षा मापदण्ड र प्रोटोकलहरूलाई राष्ट्रिय कानुनमा समावेश गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व भएको स्पष्ट पारे। प्रस्तावित विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने र व्यवस्थापन गर्ने प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउने उनले बताए। साथै हराएका वा रद्द गरिएका राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँग समन्वय गरी अद्यावधिक गर्ने बाध्यात्मक व्यवस्थाले नेपाली राहदानीको अन्तर्राष्ट्रिय विश्वसनीयता र सीमा सुरक्षा मजबुत हुने विश्वास व्यक्त गरे।

विधेयकले मानवीय संवेदनशीलता र लैङ्गिक न्यायलाई विशेष ध्यान दिएको जानकारी दिँदै मन्त्री खनालले संविधानले ग्यारेन्टी गरेको आमाको पहिचानको हकलाई कार्यान्वयन गर्न बाबुको पहिचान नखुलेको अवस्थामा आमाको स्वघोषणा र नेपाली नियोगको दर्ता नम्बरलाई आधिकारिक आधार मानी राहदानी जारी गर्ने प्रगतिशील व्यवस्था गरिएको बताए। यद्यपि राहदानी नागरिकतामा आधारित दस्ताबेज भएकाले स्थापित कानुन र संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै यसलाई थप व्यवस्थित बनाउन सकिने उनको धारणा छ। विदेशमा रहेका नेपालीहरूलाई राहदानी सेवा लिन भोग्नुपरेको भौगोलिक कठिनाइलाई सम्बोधन गर्न विधेयकले नयाँ बाटो खोलेको छ। राजदूतावासहरू सीमित स्थानमा हुने र सेवाग्राहीले लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता हटाउन बायोमेट्रिक डाटा सङ्कलनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिने खुकुलो प्रावधान प्रस्ताव गरिएको मन्त्री खनालले बताए।

डाटा सुरक्षाको विषयमा सरकार अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै मन्त्री खनालले ‘स्थापित अन्तर्राष्ट्रिय संस्थाहरूसँग नेपालको कानुनी परिधिभित्र रहेर सहकार्य गर्दा सेवा प्रवाह सहज हुने,’ बताए। विदेशमा अलपत्र परेका वा राहदानीको म्याद सकिएका नागरिकहरूका लागि ‘अस्थायी राहदानी’ जारी गर्ने कानुनी व्यवस्था गरी राज्यको अभिभावकीय भूमिकालाई सुनिश्चित गरिएको उनले उल्लेख गरे। प्रशासनिक झन्झट अन्त्य गर्दै सेवाग्राहीमुखी सुशासन कायम गर्नु विधेयकको मुख्य ध्येय रहेको मन्त्री खनालले स्पष्ट पारे। हाल देशका ७७ जिल्ला र २० वटा इलाका प्रशासन कार्यालय गरी ९७ स्थानबाट राहदानीको दरखास्त दिन सकिने व्यवस्था रहेको र यसलाई अझ प्रभावकारी बनाइने उनले बताए। अनावश्यक कागजी प्रक्रिया र प्रतिलिपि माग गर्ने पुरानो ढर्रालाई अन्त्य गरी सेवालाई डिजिटल र सरलीकृत गरिने उनको भनाइ छ।

राहदानी छपाइको संवेदनशीलतालाई ध्यानमा राख्दै सफ्टवेयर र डाटा ओनरसिपलाई पूर्णतः आन्तरिकीकरण गर्ने दिशामा सरकार अघि बढेको मन्त्री खनालले जानकारी दिए। हाल काठमाडौँबाटै सुरक्षित रूपमा राहदानी प्रिन्ट भइरहेको भए पनि भविष्यमा सफ्टवेयर प्रणालीमा विदेशी कम्पनीमाथिको निर्भरता हटाउन राहदानी विभागले गृहकार्य गरिरहेको उनले बताए। राहदानीको दुरुपयोगलाई राष्ट्रिय सुरक्षासँग जोड्दै झुटो विवरण पेस गर्ने वा अनाधिकृत प्रयोग गर्नेहरूका विरुद्ध कडा कानुनी सजायको व्यवस्था गरिएको पनि उनले प्रस्ट पारे। मन्त्री खनालले अवैधानिक बाटोबाट विदेश जाने प्रवृत्तिले उद्धार र सुरक्षामा समस्या ल्याउने हुँदा श्रम स्वीकृति लिएर मात्र विदेश जान नागरिकहरूलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ