
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै बाराकी गरिमा चौधरीको बलात्कार र हत्या घटनाको स्मरण गरे ।
उनले बलात्कार र हत्याका घटनाको फेहरिस्त लामो रहेको भन्दै पीडितको नाम लिएर लामो बहस गर्नु मात्र पर्याप्त नहुने बताए । महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।
‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु,’ उनले भने । सुनारले बलात्कार र भ्रष्टाचारका घटनामा कुनै सम्झौता गर्न नहुने भन्दै अपराध नियन्त्रणका लागि कठोर कानूनी व्यवस्था गर्न सरकारसँग माग गरे ।