
काठमाडौँ | नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग सीमामा तोक्न प्रस्ताव गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगको निम्ति अस्ट्रेलियाले उमेरको हद तोकेको उदाहरण दिँदै नेपालले ढिला गर्न नहुने बताइन्।
उनले भनिन्, ‘आज प्रविधिका माध्यमबाट, सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भएको छ। समाज धेरै अराजक बनेको छ। एउटै परिवारमा आमा–बाउसित छोरा–छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन। फेसबुक हेर्ने स्थिति छैन। यस्तो खालको अवस्था बनिरहेको छ। श्रीमतीको, श्रीमान्को झगडा हेरेर हामी रोमाञ्चित भएजस्तो गरिरहेका छौँ। आज धेरै श्रीमान्–श्रीमतीको सम्बन्धविच्छेद भएको छ। परिवार खण्डित भएको छ। समाज बिथोलिएको छ।’
उनले आज बालबच्चाको मौलिकता हराएको उनको बुझाइ छ। उनले थपिन्, ‘काम गर्ने जाँगर मरेको छ। कोठाभित्र बस्ने बानी परेको छ। साँच्चै भविष्य के हुन्छ भन्ने प्रश्न उठिरहेको छ। अस्ट्रेलियाले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगको निम्ति अस्ट्रेलियाले उमेर हद लगायो। अरू कयौँ मुलुकहरूले पनि छुट्टै खालको मापदण्ड बनाएर अगाडि बढिरहेका छन्, सीमा तोकेका छन्। अब हामीलाई पनि ढिला भएको छ।’
उनले सामाजिक सञ्जाल प्रयोगमा बालबच्चाको निम्ति मापदण्ड र वर्गीकरण निर्धारण गर्न सरकारलाई आग्रह गरिन्।