
काठमाडौँ | रसुवास्थित भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन गरिएको छ । नदीमा बगेर आएका शव संकलन गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए । संकलन गरिएका शवलाई विभिन्न अस्पतालमा सुरक्षित राखिएको छ । शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम समेत अघि बढाइएको उनले जानकारी दिए ।
बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो क्षति भएको थियो । बाढी तथा पहिरोमा परेर बेपत्ता भएकाहरूका शव नदीले बगाएर चितवनसम्म ल्याएको हुनसक्ने आशंकामा नारायणी नदी आसपासमा खोजी तथा संकलन कार्य जारी राखिएको छ । शवको संख्या बढ्दै गएपछि चितवनमा व्यवस्थापनमा समस्या देखिएको छ । जिल्लामा एकपटकमा करिब ५० वटा शव मात्र सुरक्षित राख्न सकिने क्षमता रहेकाले थप शव व्यवस्थापनका लागि वैकल्पिक तयारी थालिएको छ ।