
काठमाडौँ | बाढी तथा पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि धादिङ सदरमुकाम धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो।
वैकल्पिक मार्ग सञ्चालनमा आएसँगै अवरुद्ध सडकका कारण प्रभावित बनेको धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालसँग जोडिएको मन्त्रालयले जनाएको छ। बाढी तथा पहिरोबाट जिल्लाका विभिन्न सडकखण्डमा क्षति पुगेपछि यातायात सञ्चालन सहज बनाउन वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको हो। नयाँ मार्ग सञ्चालनमा आएपछि धादिङबेसी आवतजावतका लागि केही सहजता हुने अपेक्षा गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयले सडक सञ्चालनमा आए पनि यात्राका क्रममा स्थानीय अवस्था र मौसमलाई ध्यान दिन आग्रह गरेको छ।