
काठमाडौँ | रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १११४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट १११४ जनाको मृत्यु र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।
प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९०, तनहुँमा ३८ र चितवनमा ३४८ जना भेटिएका छन्। कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।
खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। हालसम्म २७३ जना विदेशी नागरिकको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। यसैगरी हाल होल्डिङ सेन्टरमा ३४५३ जना बसेका छन्।