काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्को र शोकको घडीमा आफ्नो पार्टी सरकारको साथमा रहेको स्पष्ट पारेको छ। रास्वपा सचिवालयको आज बसेको तीनै तहका सरकारले गरेका कामलाई साथ दिने निर्णय गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए। ‘यो शोकको घडीमा सरकारको साथमा पार्टी छ। सरकार भनेको संघीय मात्र होइन, तीनै तहको सरकारको साथमा पार्टी छ,’ उनले भने।
खरेलले पार्टीप्रति विश्वास गरेर प्राप्त भएका राहत सामग्री सरकारी संकलन केन्द्रमार्फत पीडितसम्म पुर्याउने काम भइरहेको जानकारी दिए। पार्टीले राहत वितरणमा सरकारी संयन्त्रमार्फत राहत सहजीकरण गर्ने काम गरिरहेको उनको भनाइ छ।‘राहत आएको छ, यो सामग्री पनि हामीले सरकारी संकलन केन्द्रमा पठाउँदैछौँ। पार्टीतर्फबाट राहतका लागि हुलाकीको काम मात्र गरेको जानकारी गराउन चाहन्छौँ,’ उनले भने।
सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल तथा त्यसबाट निस्किएका निष्कर्षबारे समेत जानकारी गराएको खरेलले बताए। उनले सर्वदलीय बैठकमा विपद्का बेला राजनीतिक ऐक्यबद्धता कायम गर्ने विषयमा सहमति भएको बताए। विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा समेत सर्वदलीय बैठकमा जोड दिइएको पार्टी सभाति लामिछानेले बैठकमा जानकारी गराएका थिए।