काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बाढीपीडितका लागि उठाइएको राहत रकम दुरुपयोग नहुने बताएका छन्। रास्वपा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खरेलले राहतका लागि उठाइएको रकम अन्य प्रयोजनमा खर्च गर्न नमिल्ने बताएका हुन्।
‘राहतका लागि उठेको पैसा रकमान्तर गर्न पनि पाइँदैन। नियममै त्यो कुरा लेखिएको छ। जुन प्रयोजनका लागि लिइएको हो, त्यहाँभन्दा एक रुपैयाँ पनि खर्च गर्न पाइँदैन,’ उनले भने।
उनका अनुसार सरकारले राहतका लागि भनेर हाल एक अर्ब रुपैयाँ निकासा गरेको छ भने स्थानीय तहका लागि ६ करोड रुपैयाँ निकासा गरिएको छ।‘अहिले त्यही राहतका लागि भनेर एक अर्ब निकासा गरियो। ६ करोड पालिकालाई निकासा गरियो। अहिले अपुग भयो भनेर गुनासो आएको छैन,’ उनले भने। खरेलले सरकारले हेलिकप्टरबाट उद्धार गर्नुपरे पनि मानिसको ज्यान बचाउने सवालमा प्रयास गरिरहेको बताए। बाढीपीडितसम्म राहत नपुगेको भए त्यसबारे जानकारी गराउनसमेत उनले आग्रह गरे।