
काठमाडौँ | भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। नेपाल प्रहरीको विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार प्रभावित क्षेत्रमा उद्धार टोली, स्वास्थ्यकर्मी, फरेन्सिक विज्ञ तथा अन्य प्रहरी जनशक्ति परिचालन गरिएको छ।
केन्द्रका अनुसार सोमबार बिहान १०ः४५ बजेसम्म एक हजार ३५६ शव फेला परेका छन्। तीमध्ये ५३० पुरुष, ३२९ महिला र ४९७ आंशिक शव तथा अङ्ग रहेका छन्। हालसम्म एक हजार ३४८ शवको मुचुल्का गरिएको छ भने ९८ शव आफन्तलाई हस्तान्तरण गरिएको छ। यसैगरी, हालसम्म चार हजार ७७ जना बेपत्ता भएका छन्। तीमध्ये तीन हजार ४७९ नेपाली नागरिक छन्। जसमा दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन्। त्यस्तै, विदेशी नागरिकतर्फ २६९ पुरुष र ३२९ महिला गरी ५९८ जना बेपत्ता भएका छन्। हालसम्म नौ हजार १५९ जनाको उद्धार गरिएको केन्द्रले जनाएको छ। उद्धार गरिएकामध्ये छ हजार ३२४ पुरुष, दुई हजार ७८१ महिला र ५४ जना पहिचान नखुलेका व्यक्ति रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित नागरिकको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलन, फरेन्सिक परीक्षण तथा अभिलेखीकरणको काम भइरहेको प्रहरीले जनाएको छ। घाइतेको उपचार तथा पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन अस्पताल र सम्बन्धित निकायसँग समेत समन्वय गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा थप प्रहरी परिचालन गरिएको छ। राहत वितरण, विस्थापितको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा विपद्बाट उत्पन्न हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा समेत प्रहरी सक्रिय रहेको छ।