
काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा नागरिकको सुरक्षा तथा अस्थायी पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाहरूमा असुरक्षा तथा स्वास्थ्य जोखिम बढेकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए। रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आवतजावत पूर्ण रूपमा विच्छेद भएको भन्दै तत्काल वैकल्पिक यातायातको व्यवस्था गर्न उनले माग गरे।
बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्र आवतजावतको समस्या समाधान नहुने भन्दै कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न उनले सरकारसँग आग्रह गरे। होल्डिङ सेन्टरको अवस्थाबारे बोल्दै सांसद केसीले भने, ‘बाढीग्रस्त रसुवा तथा नुवाकोटका होल्डिङ सेन्टरमा रहेका पीडितहरू र त्यसमा पनि खास गरेर महिला, वृद्ध तथा बालबालिकाहरू अत्यन्त अप्ठ्यारा परिस्थितिमा छन्। उनीहरूलाई अझै बढी संरक्षण, सुरक्षा र व्यवस्थापनको आवश्यकता छ। पीडितहरूलाई यथाशीघ्र सुरक्षित र अस्थायी पुनर्स्थापना मिलाउन सरकारसँग जोडदार माग गर्दछु।’
आवतजावतको सास्ती र बेलीब्रिजको आवश्यकता औँल्याउँदै उनले भने, ‘अहिले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा आवतजावत पूर्ण रूपमा विच्छेद छ। बेत्रावतीदेखि गल्छीसम्म दुईवटा तुईनले मात्र पुग्दैन। कम्तीमा पाँच वटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न पनि म सरकारसँग माग गर्न चाहन्छु।’ उनले खोज तथा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउनसमेत सरकारसँग माग गरे।