
काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार दम्भ र अहङ्कारको बाटोमा हिँडेको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सरकारको कार्यशैलीप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै पुनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सत्ताको आयु सधैँ नहुने भन्दै सचेत गराएका हुन् ।
सरकारलाई चेतावनी दिँदै पूर्वमन्त्री पुनले भने, ‘लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जित–हार भइरहन्छ। सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नुस्। यदि अरूका कुरामा विश्वास लाग्दैन भने तपाईंहरूको कार्यालयको भित्तामा झुन्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूका तस्बिर एक पटक हेर्नुभयो भने सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ।’
सांसद पुनले सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघेको बताए । उनले मन्त्रीहरूले निजी क्षेत्रलाई खुट्टा भाँच्ने, थुन्ने र पाता कस्ने भन्दै धम्क्याएकोमा आपत्ति जनाए । पुनले भने, ‘यस्तो त्रासपूर्ण वातावरणमा निजी क्षेत्रले कसरी लगानी गर्न सक्छ ? निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस्।’
पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रसव पीडामा रहेकी श्रीमती चढेको गाडी रोकिँदा सिंहदरबार जलाउँछु भन्ने गरिब मधेसी महिलाले सडकपेटीमा बच्चा जन्माउँदा किन मौनता ? भन्दै प्रश्न गरे। उनले चुनावी भाषणमा खल्तीमा पैसा नहुनेले उपचार पाउँछ भनी गरिएका वाचाहरू अहिले करको बोझमा परिणत भएको आरोप लगाए। जेनजी आन्दोलनलाई दमन गर्ने प्रयास गरिएको भन्दै उनले सो घटनाको जाँचबुझ आयोग र मानवअधिकार आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरे। ‘दोषी को हो ? राज्यका संयन्त्र किन मौन थिए ? सूचना हुँदाहुँदै सुरक्षा तयारी किन भएन ?’ पुनले प्रश्न गरे। उनले जेन–जी घाइतेहरूमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै सरकार पक्षधरलाई नागरिकका प्रश्न सुन्न र जवाफ दिन आग्रह गरे। पुनले नागरिकको मुख थुन्ने, निरङ्कुश र स्वेच्छाचारी बन्ने छुट सरकारलाई नभएको बताए।