
काठमाडौँ | भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी हालसम्म १ हजार ३९२ जनाको मृत्यु भएको छ भने ४ हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अङ्ग रहेका छन्, जसमध्ये १०३ वटा शवको सनाखत गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। पहिचान हुन नसकेका बाँकी शवको डिएनए परीक्षणमार्फत सनाखत गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता सूचीमा २ हजार ९०७ नेपाली पुरुष र ५७२ महिला गरी कुल ३ हजार ४७९ नेपाली नागरिक छन्। त्यसैगरी विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला गरी ६०० जना अझै सम्पर्कविहीन रहेका छन्।
उद्धार कार्यका क्रममा हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९ हजार २८७ जना घाइतेलाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र पहिचान नखुलेका ५० जना छन्। उनीहरूमध्ये २ हजार ७८१ जनालाई हाल सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखेर प्राथमिक उपचार तथा राहतको व्यवस्था मिलाइएको छ।