काठमाडौँ | विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूको सहभागितामा उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने आवाज उठिरहेका बेला रास्वपाले सर्वदलीय बैठक बोलाएको हो।
भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो । भदौ ११ गते बसेको सर्वदलीय बैठकमा बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनको विषयमा १० बुँदे सङ्कल्प गरेको थियो ।
भदौ १५ गते बसेको दोस्रो तहका सर्वदलीय बैठकले १० बुँदे सङ्कल्पलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आजको बैठकमा रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेता वर्षमान पुन, राप्रपाबाट नेता ज्ञानबहादुर शाही, जनमत पार्टीबाट अध्यक्ष डा. सिके राउत लगायत नेताहरू सहभागी छन् ।