काठमाडौँ | चाडपर्व नजिकिँदै गर्दा चिनीको अभाव हुने भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति सरकारले चिनीको आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रमा प्रतिकिलो ११० रुपैयाँमा चिनी सहज रूपमा बिक्री भइरहेको छ।
भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायतका प्रमुख बिक्री केन्द्रबाट उपभोक्ताले तोकिएको मूल्यमा चिनी खरिद गर्न सक्ने विभागले जनाएको छ। यसअघि भोटेकोशी नदीमा आएको बाढी–पहिरो तथा पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको र भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको विषयलाई चिनी अभावसँग जोडेर समाचारहरू सार्वजनिक भएका थिए। यही विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री दीपक साहको अध्यक्षतामा भदौ ३० गते सरोकारवालासँग भएको बैठकले चिनीको आपूर्ति र बजार व्यवस्थापनबारे छलफल गरेको थियो। बैठकपछि काठमाडौँ उपत्यकामा चिनीको सहज बिक्री–वितरण भइरहेको विभागले जानकारी दिएको हो।
विभागले चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी सञ्चय नगर्न आग्रह गरेको छ। चाडपर्वको समयमा बजारमा चिनीको माग बढ्ने भए पनि आपूर्ति व्यवस्थापनमा समस्या नरहेको विभागको भनाइ छ। उपभोक्ताले अनावश्यक रूपमा चिनी थुपारेर राख्नुपर्ने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ।