
काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ लाख रुपैयाँ घुससहित नापी अधिकृतलाई पक्राउ गरेको छ । आयोगले काठमाडौँको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई घुससहित नियन्त्रणमा लिएको हो ।
छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउन अनावश्यक दुःख तथा हैरानी दिई घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले वलीलाई पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । अख्तियारका अनुसार वलीलाई घुसबापत ९ लाख रुपैयाँ लिइसकेको अवस्थामा बुधबार काठमाडौँको टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो ।
वलीविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा बिहीबार विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।