काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरेका छन्। गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अगाडि बढाउने संकल्प गरेका हुन्।
उनले भनेका छन्, ‘हामी १५औँ महाधिवेशनको यात्रामा छौँ। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई सङ्गठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो।’
उनले समयसँगै चुनौती पनि बदलिएको उल्लेख गरेका छन्। उनले थपेका छन्, ‘तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ।’
उनले सिंहलाई लोकतन्त्रका लागि जीवन समर्पण गर्ने, कठिन परिस्थितिमा पनि आफ्नो अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेताको रूपमा व्याख्या गरेका छन्।