काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानमा नै लेखिएको व्यवस्थाले अब यसको गम्भीर समीक्षाको माग गरेको बताएका छन्। संविधान दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत सभापति लामिछानेले संविधान केवल केही अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका हुन् । यद्यपि, नेपालको सन्दर्भमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूर्णरूपमा पूरा हुन नसकेको उनले औंल्याएका छन्।
सभापति लामिछानेले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसका अन्तर्वस्तुहरू परिष्कृत र संशोधन हुन सक्ने बताएका छन्। ‘हामीलाई थाहा छ, संविधान एक जीवन्त दस्तावेज हो। यसका अन्तर्वस्तु राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिष्कृत हुन सक्छन्, संशोधन हुन सक्छन्। संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ। तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ,’ उनले भनेका छन् ।
देशमा देखिएका बेथिति र कमजोरीहरूलाई सच्याएर लोकतन्त्र तथा समावेशितालाई थप बलियो बनाउनका लागि विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन नै संविधान दिवस भएको उनको भनाइ छ।