2026-09-19 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल

2026-09-19

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जबाफदेही बनाउने संस्कार स्थापित गर्न सकेमात्र लोकतन्त्र बलियो हुने बताएका छन्। संविधान दिवस २०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जबाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ,’ पौडेलले भने, ‘संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन्।’

यसका लागि संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्ने सङ्कल्प गर्न उनले आह्वान गरे। कुनै पनि नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि राज्यसँग याचना गर्नु नपर्ने दिनमा मात्र संविधानको साँचो अर्थ बोध हुने उनको भनाइ छ। राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको पौडेलले प्रस्ट पारे। शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा नहुने उनले बताए। ‘जसले नागरिकमा आशा जगाउन सकोस्। नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ,’ उनले थपे, ‘न त व्यवस्था नै सफल हुन्छ।’

व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्न राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा परिवर्तन ल्याउन आवश्यक रहेको उनले औँल्याए। आजको दिनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउने विश्वास पौडेलले व्यक्त गरे। संविधान कागजमा लेखिएको शब्द वा वाक्यको सङ्ग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको पौडेलले स्मरण गराए। ‘यसको महत्त्व त्यति बेला प्रकट हुन्छ, जब राज्य नागरिकको आर्तनादसँगै उभिन्छ,’ उनले भने, ‘सरकार नागरिकको सेवक बन्छ र न्याय राज्यको मूल ध्येय बन्छ।’

कुनै पनि नेपालीले आफ्नै देशमा एक्लो र पराया अनुभूति गर्न नपर्ने अवस्था सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी सरकारले मात्र नागरिक सर्वोच्चता स्थापित गर्न सक्ने उनको तर्क छ। संरचनागत लाभांशको परम्परागत चरित्र तोडेर सबैलाई समान हक, सामाजिक न्याय र समृद्धि सुनिश्चित नगरी संविधानका वाचा पूरा नहुने उनले स्पष्ट पारे। संविधान दिवसलाई विपत्तिको पीडासँगै आत्मसमीक्षाको दिनका रूपमा लिनुपर्ने पौडेलले बताए। हालैको विपत्तिले विकास भनेको सडक, पुल र भवन मात्र नभई मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो भन्ने पाठ सिकाएको उनले उल्लेख गरे।

‘यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ,’ पौडेलले भने। जलवायु परिवर्तनका चुनौतीबिच विकासका ढाँचालाई थप मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्ने उनको भनाइ छ।

जननिर्मित संविधानले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान दिएको पौडेलले बताए। एकात्मक र केन्द्रीकृत शासनप्रणालीको अन्त्य गर्दै संविधानले दिएको सङ्घीयता महत्त्वपूर्ण उपहार भएको उनले उल्लेख गरे। यसलाई देश विकासको अनिवार्य तहका रूपमा विकास गर्न जरुरी रहेको उनको भनाइ छ।‘हामीलाई यो संविधानले बहुलवादमा आधारित समावेशी नेपाल बनाउने अवसर दिएको छ,’ पौडेलले भने, ‘हामीले यो संविधानमार्फत राज्यको शासकीय संरचनालाई नयाँ ढङ्गले स्थापित गरेका छौँ।’ यिनै महान् उपलब्धिको जगमा भविष्यको सुखद यात्रा सुनिश्चित हुने उनले बताए।

संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिए। बाढी र प्राकृतिक विपत्तिका कारण कैयौँले ज्यान र घरबार गुमाएको दुःखद घडीमा उनले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे। भदौ १० को बाढीबाट प्रभावित मित्रराष्ट्रका नागरिकको क्षतिप्रति पनि उनले नेपालको तर्फबाट समवेदना प्रकट गरे। सात दशक लामो सङ्घर्षबाट संविधान प्राप्त भएको स्मरण गर्दै पौडेलले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद, आन्दोलनका क्रममा यातना सहने योद्धाहरू र अग्रज नेताहरूप्रति उच्च सम्मान प्रकट गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो