काठमाडौँ | नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नागरिकका समस्या समाधान गर्नुपर्ने सरकार आफैँ अलमलिएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले रसुवा र नुवाकोटका बाढीपीडितहरू अझै बिचल्लीमा रहेको भन्दै सरकारले तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न नसकेको बताए । “रसुवा, नुवाकोटका बाढीपीडितहरू बिचल्लीमा छन् । चाडपर्वको मुखमा अस्थायी पुनर्वासको व्यवस्थाको सुरसार छैन,” उनले भने ।
केसीले संसदीय विशेष समिति तत्काल गठन गर्न माग गरे । संस्था र व्यक्तिभन्दा प्रभुत्वका आधारमा देश सञ्चालन हुन थालेको भन्दै उनले दुःख व्यक्त गरे । भदौ २४ गते भएको विध्वंसको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग तत्काल गठन गर्नुपर्ने उनको माग थियो । “सभामुख महोदय, सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो कि के हो ?” उनले प्रश्न गरे ।
मानवअधिकार आयोगको प्रतिवेदन लुकाउनु जनताको सूचनाको अधिकारमाथिको आक्रमण मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा नेपालको बदनाम गराउने काम भएको केसीले बताए । उनले आयोगका सिफारिस कार्यान्वयन नगरेर सरकारले संविधान र विधिको शासनकै खिल्ली उडाएको आरोप लगाए । नागरिकका समस्या समाधान, घटनाको छानबिन र संवैधानिक निकायका सिफारिस कार्यान्वयनमा सरकारको ढिलाइले राज्यप्रतिको जनविश्वास थप कमजोर बनाउने उनको भनाइ थियो ।