काठमाडौँ | नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले वर्तमान सरकार नागरिकको आलोचना र प्रश्न सुन्नबाट डराएको आरोप लगाएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा उनले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र सरकारले जनजीविकाका समस्याप्रति गम्भीर बन्नुपर्ने बताइन् ।
सांसद थपलियाले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै भनिन्, ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन।’ उनले सरकार गठन भएको आधा वर्ष बितिसक्दा पनि नागरिकमा निराशा छाएको बताइन् । ‘सय दिनमा विगतभन्दा फरक गरेर देखाउँछौँ भन्ने साथीहरू सरकारमा हुनुहुन्छ, तर किन नागरिक अझ बढी निराश छन् ? अहिलेका घटनाहरू अपवाद होइनन्, नियमित जस्ता देखिन थालेका छन्,’ थपलियाले भनिन् ।
उनले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ प्रकरणप्रति ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘लोकतन्त्र भनेको सरकारको प्रशंसा मात्र सुन्ने व्यवस्था होइन, असहज प्रश्न सहने तागत पनि हो। साइबर कानुनको आडमा वैधानिक आलोचनालाई अपराध बनाउने अधिकार राज्यलाई छैन। हथकडीले हात बाँध्न सकिएला, तर विचार बाँध्न सकिँदैन।’ सांसद थपलियाले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाले भोगिरहेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराइन्। धादिङ र गोरखालाई जोड्ने त्रिशूली नदीमाथिको ‘फुर्के खोलाको पक्की पुल’ बाढीले बगाएको २८ दिन भइसक्दा पनि सरकार बेखबर रहेको बताइन् ।
नजिकिँदै गरेका चाडपर्वमा हुनसक्ने अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न उनले सरकारसँग आग्रह गरिन्। साथै, असोज ९ देखि ११ गतेसम्म हुनसक्ने भनिएको भारी वर्षाको पूर्वतयारीमा जुट्न र सम्भावित विपद्बाट नागरिकलाई जोगाउन सरकारलाई सचेत गराइन्। सांसद थपलियाले सत्ता पक्षमाथि व्यङ्ग्य गर्दै भनिन्, ‘हिजो सरकारविरुद्ध स्ट्याटस लेखेर डलर कमाउनेहरू आज किन जनताका स्ट्याटस बुझ्ने हिम्मत राख्दैनन् ? जनताले तपाईंका शब्द होइन, कर्म र जवाफ खोजिरहेका छन्। फेसबुकमा ‘गुड जब’ लेख्न नसक्ने श्रमिक पनि नेपाली हुन् भन्ने अनुभूति सरकारलाई छ कि छैन ?’